काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।
काठमाडौं, भद्रकालीमा बैंकका अध्यक्ष राहुल अग्रवालको सभापतित्वमामा सम्पन्न सो साधारणसभाले बैंकको संचालक समितिद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित चालु आ.व.को असार मसान्तसम्मको नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको २०८१/०८२ को वित्तीय विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५ को ५.५३ प्रतिशतको दरले हुने रकम ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुने रकम ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बराबरको वोनस शेयर जारी गर्ने भएको छ ।
समीक्षा अवधिमा बैंकको कूल सम्पत्ति रु.२९७.३४ अर्बबाट वृद्धि भइ रु. ३३८.८१ अर्ब पुगेको र गत आ.व.को तुलनामा १३.९५ प्रतिशत वृद्धि भएको साधारणसभामा जानकारी दिइएको थियो ।
त्यसैगरी संचालक मुनाफातर्फ रु. ४.४८ अर्बबाट वृद्धि भइ रु. ४.९७ अर्ब पुगेको छ भने गत बर्षको तुलनामा १०.९३ प्रतिशतले वृद्धि भएको र खुद नाफातर्फ रु. ३.०८ अर्बबाट वृद्धि भइ रु. ३.३७ अर्ब भएको छ जुन गत बर्षको तुलनामा ९.३० प्रतिशत वृद्धि भएको साधारणसभामा जानकारी गराइएको थियो । व्याज आम्दानीतर्फ रु. ७.९३ अर्बबाट वृद्धि भइ रु. ८.४४अर्ब पुगेको छ ।
यसैबीच साधारणसभामा उपस्थित शेयरधनीहरुद्वारा राखिएको जिज्ञासाको समाधान बैंकका अध्यक्ष अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले गरेका थिए भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

