२०८३, कार्तिक ११ गते बुधबार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’


  • मेरोभ्यूज
  • मंसिर ८, २०८२ सोमबार

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

     

    तनहुँ । यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

    मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

    यहाँ वार्षिक छ/सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

    सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिरको गत वर्ष पुन:निर्माण गरी आकर्षक बनाइएको छ ।

    कोषका अध्यक्ष थापाका अनुसार गण्डकी प्रदेश सरकारको रु. २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोषबाट रु. ४६ लाख गरी रु. ७० लाखको लागतमा मन्दिरको पुन:निर्माण गरिएको हो ।

    मन्दिरमा शनिबार मात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गर्छन् । दसैँ, तिहारका बेला मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने उनको भनाइ छ ।

    साउन महिनाभरि, प्रत्येक महिनाको औँसी र एकादशीमा भने यहाँ पूजाआजा बन्द गरिने अध्यक्ष थापाले बताए ।

    “छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास छ । मन्दिर बाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा अन्जानमा गरिएका सबै पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ”, उनले भने ।

    मन्दिरमा तीन जना मगर जातिका पूजारी छन् । यहाँ साउन, एकादशी र औँसीबाहेकका दिनमा बली चढाइने अध्यक्ष थापाले जानकारी दिए ।

    मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने चलन छ । मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति आकर्षणका रूपमा रहेका छन् ।

    मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

    उनका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा आवश्यक प्रवर्द्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।


    प्रकाशित : सोमबार, मंसिर ८ २०८२०९:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार