२०८३, कार्तिक ११ गते बुधबार

तालाराही मन्दिर पुन:निर्माण अन्तिम चरणमा

तालाराही मन्दिर पुन:निर्माण अन्तिम चरणमा


  • मेरोभ्यूज
  • मंसिर १०, २०८२ बुधबार

  • तालाराही मन्दिर पुन:निर्माण अन्तिम चरणमा

     

    कास्की । पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुन:निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ ।

    वि.सं. २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुन:निर्माण थालनी गरिएको थियो ।

    मन्दिरको पुन:निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय छ ।

    उनले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सिर्जना भएकोले पुन:निर्माण गर्नुपरेको बिताए ।

    जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुन:निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुन:निर्माणका लागि काम अगाडि बढाएको हो ।

    भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए ।

    पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ ।

    पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुन:निर्माण गर्न लागिएको हो ।

    मन्दिर पुन:निर्माण सम्पन्न गर्न रु. एक करोड ८४ लाख लाग्ने जानकारी अध्यक्ष पहारीले दिए ।

    प्यागोडा शैलीमै कालिगढ भक्तपुर र ललितपुरबाट मगाएर वर्तमान स्वरुपमै मन्दिर पुन:निर्माण गर्न लागिएको हो । मन्दिर पुन:निर्माण गर्न पुरातत्व विभागले रु. छ लाख दिएको छ भने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुन:निर्माण सम्पन्न गरिनेछ ।

    पुन:निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुन:निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ ।

    तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुन:निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ ।

    कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गरेको बताइन्छ । यस मन्दिरको अस्तित्व १६६९ सालदेखि कायम रहिआएको छ । कतै-कतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ ।

    प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पूजारी उमेश पहारीले सुनाए ।

    पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । यस कारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ ।

    माछापुच्छे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देख्नुका साथै पर्यटकीय गन्तव्य सराङकोट, पुम्दीकोट, कास्कीकोट दरबारलगायतका स्थान यहाँबाट देख्न सकिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ, पूजारी पहारीले भने ।

    यस्तो छ किंवदन्ती

    स्थानीय अग्रज ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको र एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै त्यस बस्तीमा आए, कसैले बास नदिएपछि उनी एक वृद्धाकोमा पुगे । वृद्धाले बास बस्न दिइन् । तर खान भने ढुटोको रोटीमात्र भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाईँ भने अग्लो ठाउँमा चाँडै जानु ।”

    जोगी हिँडेको केही समयमा आवाज आयो । आवाजसँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

    फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको मध्यभागमा अवस्थित पुरानो मन्दिर तालवाराही भगवतीको पूजाआजाको प्रारम्भ १४६७ सालबाट भएको हो भने १८६८ सालबाट नित्य पूजाआजा शुरु भएको जानकारी मन्दिरका सूचना अधिकारी राजेन्द्र खत्रीले दिए ।

    सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले २०१७ सालमा शुरु गरेका थिए ।

    वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने २०५३ सालमा आएर मात्र भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो ।

    तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

    कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण र गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

    तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढा-टाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।

    तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्वशान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उनले बताए । मन्दिर गुठीको नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।


    प्रकाशित : बुधबार, मंसिर १० २०८२०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार