२०८३, कार्तिक ११ गते बुधबार

फुङ्फुङ्गे झरना

फुङ्फुङ्गे झरना


  • मेरोभ्यूज
  • मंसिर १७, २०८२ बुधबार

  • फुङ्फुङ्गे झरना

     

    ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयमा यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।

    पहराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए ।

    उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचार-प्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ ।

    आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचार-प्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, तस्बिर प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।

    यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ ।

    पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।

    सरकारले एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् ।

    सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवर्द्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आएका सिरिजङ्घा गाउँपालिकाका कुमार माबोले जानकारी दिए ।

    झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नती, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ ।

    अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ ।

    सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा रु. एक करोड बजेटसमेत खर्च भएको छ ।

    झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढा क्षेत्री (पराग)को भनाइ छ ।

    उनका अनुसार यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढा क्षेत्रीले बताए ।

    विगतका समयमा भन्दा अहिले यस क्षेत्र धेरै विकास भएको झरनाको अवलोकन गर्न पुगेका फुङ्लिङ नगरपालिकाका सानुमाया लिम्बूले बताइन् ।

    हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छ भने क्रमशः अन्य होटल पनि सञ्चालनमा ल्याउन शुरु गरिएको छ ।

    झरना प्रचार-प्रसार गर्न मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघुउद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताए ।

    उनका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई रु. तीन लाख दुई हजार ८२ र उपविजेतालाई रु. एक लाख ५२ हजार ८२ बराबरको अलैँची प्रदान गरिनेछ ।

    फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउअनुसार घोषणा गरिएको रकमबराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ ।

    अलैँचीको प्रवर्द्धनका लागि पुरस्कारस्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

    मेला सम्पन्न गर्न करिव रु. १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिए ।

    स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण व्यवसायी, स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग सङ्कलन गरी मेला आयोजना गरिएको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, मंसिर १७ २०८२०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार