२०८३, कार्तिक ११ गते बुधबार

कोतपर्वको फरार अभियुक्त

कोतपर्वको फरार अभियुक्त


  • मेरोभ्यूज
  • फाल्गुण १६, २०८२ शनिबार

  • कोतपर्वको फरार अभियुक्त

    कोतपर्वको फरार अभियुक्त

                                                                                       - प्रकाशचन्द्र खतिवडा

     

    जङ्गबहादुर मरेको छैन

    कालो तरवार नचाएर

    टुँडीखेलमा परेड खेल्छ

    निहत्था मान्छेलाई

    शूली चढाउने आदेश दिंदै

    जुँङ्गा मुसार्छ

    अनि खेल्छ रगतको होली ।

     

    प्रतिगमनको खास्टो ओढ्छ

    सत्ताआरोहणको सपना देखी

    गद्दी आरोहणको हुकुम बक्सन्छ

    चन्ड मुन्ड सलबलाउँछन्

    महाराजको आगमनमा

    पाउमा दाम राख्दै

    दन्डवत गर्छन हुक्के र वैठकेहरु ।

     

    मलाई देश प्रिय लाग्छ

    म देशकै कविता लेख्छु

    मलाई स्वाधिनता प्रिय लाग्छ

    म स्वाधिनताकै गीत गाउँछु   

    सीमा रेखामा गस्ति गर्दै

    लड्छु अस्तित्वको लडाइँ

    म गाउँदिन जयजयकार

    राजा महाराजाको प्रशश्ति लेख्दै

    म विद्रोही स्वभावकी छु

    मलाई विद्रोह गर्न देउ

    म च्यात्छु निरङकुशताका पर्दाहरु ।

     

    हामीले हाम्रो काख रित्याएका छौं

    स्वतन्त्रता सङ्ग्राममा छोराहरु गुमाइ

    हाम्रो सिंदुर पुछिएको छ

    युद्ध मोर्चामा मारिएका छन् पतिहरु

    हाम्रो धैर्यता टुटिसकेको छ

    हामी उठाउने छौं खुर्पा र खुँडाहरु ।

     

    महाराज !

    तिम्रो हुकुम

    हामीलाई मान्य छैन

    तिमी बर्बराउँछौ किन <

    तिम्रो विक्षिप्तता देखेर

    हामी दयाभाव प्रकट गर्न सक्दैनौं

    तिमीलाई उचाल्ने हनुमानहरु

    तिम्रो चाकरी गर्लान

    तिमी अन्धभक्तहरुलाई

    बरदान दिन्छौं

    हामी श्राप दिउँला ।

     

    तिमी दीवास्वप्न नदेख

    व्यर्थै मन कुँडिन्छ

    थुकेको थुक किन चाट्ने <

    ओ जङ्गबहादुर !

    तिमी कोतपर्वको फरार अभियुक्त हौ ।


    प्रकाशित : शनिबार, फाल्गुण १६ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार