२०८३, कार्तिक ११ गते बुधबार

रु. १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल

रु. १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल


  • मेरोभ्यूज
  • फाल्गुण २०, २०८२ बुधबार

  • रु. १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल

     

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु. १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।

    बि.सं. २०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण शुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।

    चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले जानकारी दिए । भवनको पुस ६ गते उद्घाटन गरिएको छ । ४२ कोठासहितको दुई तलाको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगरप्रमुख अधिकारीले सुनाए ।

    नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरङ्ग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष रहेका छन् ।

    सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगरप्रमुख अधिकारीले बताए ।

    मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएक पर्ने नगरप्रमुख अधिकारीले जानकारी दिए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए ।

    यसै महिनादेखि एमडिजिपीसहित, दैनिकरुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए ।

    बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नीलगायतका सेवा प्रदान गर्ने बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रियासहितको आँखा उपचार सेवा शुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए ।

    ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगरप्रमुख अधिकारीले जानकारी दिए ।

    “सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहजरुपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ”, नगरप्रमुख अधिकारीले भने ।

    मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिकरुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख साहले बताए ।

    पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए ।


    प्रकाशित : बुधबार, फाल्गुण २० २०८२१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार