२०८३, कार्तिक ११ गते बुधबार

डा सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक विमोचन

डा सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक विमोचन


  • मेरोभ्यूज
  • माघ ८, २०७८ शनिबार

  • डा सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक विमोचन

    काठमाडाैं । डा मिता सिंहद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तक विमोचन गरिएको छ । गणेशमान सिंह फाउण्डेशनले प्रकाशन गरेको उक्त पुस्तकको कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आज विमोचन गरे ।

    कार्यक्रममा नेता सिंहले मुलुकमा प्रजातान्त्रिक मूल्य, मान्यता स्थापना गर्न र समाज रुपान्तरणका लागि स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंहले गर्नुभएको योगदानलाई विदेशमा समेत चिनाउन अङ्ग्रेजी भाषामा लेखिएको कृतिले सहयोग पुग्नेछ, लेखक धन्यवादको पात्र हुनुहुन्छ”, उनले भने ।

    फाउण्डेशनका कार्यकारी अध्यक्षसमेत रहेका नेता सिंहले गणेशमान सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन गर्नुभएको सङ्घर्ष र गणेशमानलाई नयाँ पुस्तामा चिनाउनका लागि फाउण्डेशनले विभिन्न किसिमका रचनात्मक कार्य गर्दै आइरहेको बताए । फरक प्रसङ्गमा नेता सिंहले संविधानको मर्म र भावनाअनुसार सबै चल्नुपर्ने बताए।

    स्थानीय र सङ्घीय तहको निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुका विभिन्न भनाइ बाहिर आएका भन्दै उनले संविधानअनुसार सबै चल्नुपर्ने स्पष्ट पारे । कम्युनिष्ट सरकारले काम गर्न नसकेपछि विशेष परिस्थितिमा गठबन्धन सरकार बनेको भन्दै यो सरकारबाट जनताले धेरै अपेक्षा गर्न नहुने उनको भनाइ थियो ।

    लेखक कनकमणि दीक्षितले दुई अधिनायकवाद (राणा र शाही शासन) विरुद्ध लडेका गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउन पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । राजनेतामा हुनुपर्ने गुण गणेशमान सिंहसँग भएको उनको भनाइ थियो । दीक्षितले लोकतन्त्र अहिले पनि खतरामा पर्दै गएको बताए ।

    प्राध्यापक कपिल श्रेष्ठले सङ्घर्षशील, निस्वार्थी, बलिदानी र त्यागी नेता गणेशमान सिंह भएको बताए । नेपाली जनता र लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता स्व सिंह भएको उनको भनाइ थियो । लेखक डा सिंहले युवापुस्तालाई गणेशमान सिंहले प्रजातन्त्र ल्याउनका लागि दुईपटक (विसं २००७ र २०४६) गरेको सङ्घर्षलाई बुझाउनका निम्ति उक्त पुस्तक तयार पारेको बताए । 


    प्रकाशित : शनिबार, माघ ८ २०७८०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार