२०८३, कार्तिक ११ गते बुधबार

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !


  • मेरोभ्यूज
  • आषाढ १५, २०८३ सोमबार

  • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !

     

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।

    स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेको गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

    पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङजस्ता आकृतिहरू अवलोकन गर्न सकिने गुफा ओझेलमा परेको छ ।

    “गुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुँदेर बनाएका विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,” उनले भने, “स्थानीयस्तरमा सीमित यो गुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पाउद्वारवासी जुटेका छौँ ।”

    गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरूका देवीदेवताहरूको आकृतिहरू पनि भेटिन्छ । तपतप गरेर पानी चुहिरहने गुफा करिब दस मिटर लामो भएको स्थानीयको भनाइ छ । गुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुपर्छ ।

    टेक्ने भुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफा अवलोकन गर्न नआएको पुनले बताए ।

    पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुफामा पुगिन्छ । यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन । निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।

    पाउद्वारकी पुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफामा जाने करिब तीन सय मिटर पदमार्ग निर्माण गरिदिएकी छिन् ।

    पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुफासम्म पाच सय मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ ।

    गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रको आकृतिहरू देखेर अनौठो महशुस भएको बताइन् ।

    गुफाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको उनले बताइन् । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेका हुन् ।


    प्रकाशित : सोमबार, आषाढ १५ २०८३०८:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार