गोरक्ष हाइड्रोपावरको विशेष साधारण सभा सम्पन्न, आइपीओ जारी गर्ने सम्बन्ध पारित

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
बत्तिसपुतली, काठमाडौंमा सोमबार कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुको सभापतित्वमा सम्पन्न सो साधारण सभाले आयोजनालाई तीव्रता दिन कम्पनीमा रहेको अधिकृत र जारी पूँजी रु. १,८०,००,००,०००।०० रहेकोमा वृद्धि गरी रु. २,२०,००,००,०००।०० पुर्याउने प्रस्ताव पारित गरेको छ ।
जारी पूँजीमध्ये संस्थापक समूहलाई ८० प्रतिशतको दरले हुन आउने शेयर संरचना घटाइ ७५% बनाउने र सर्वसाधारणलाई २०% का दरले हुन आउने शेयर संरचना बढाई २५% पुर्याउने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
त्यसैगरी २५% को दरले हुन आउने शेयर सर्वसाधारणमा जारी गर्ने जसमध्ये जारी पूँजीको १०% को दरले हुन आउने शेयर आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई र बाँकी १५% शेयर सर्वसाधारणमा र जसमध्ये सर्वसाधारणलाई छुट्याइएको शेयरको १०% शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई दुई प्रतिशत शेयर संस्थामा कार्यरत कामदार तथा कर्मचारीहरूलाई र ५% छुट्याइएको शेयर सामुहिक लगानी कोषतर्फ रहेको समेत आयोजित साधारण सभामा जानकारी दिइयो ।

आइपिओ निष्कासन सम्बन्धी काम कारबाहीबारे सम्बन्धित निकायसँग परामर्श गर्न सञ्चालक समितिलाई साधारण सभाले पूर्ण स्वीकृतिसमेत दिएको छ ।
धादिङ जिल्लास्थित आँखुखोलाको पानी उपयोग गरी विद्युत उत्पादन गर्ने २५.४ मेगावाट जडित क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य तीव्रताको साथ अघि बढिरहेको समेत अध्यक्ष लिम्बुले जानकारी दिए ।
हाल २०४३ मिटर सुरुङ उत्खननसमेत गरिएको अध्यक्ष लिम्बुले बताए भने सुरुङमार्गको लम्बाई ३,५९० मिटर रहेको समेत जानकारी दिए ।
साधारण सभामा जानकारी दिइएअनुसार आयोजनाको हेडवक्सअन्तर्गत समग्रमा ८२% काम सम्पन्न भइसकेको छ भने हालसम्म रु. एक सय १५ करोड दीर्घकालीन कर्जा ड्र डाउन गरिसकिएको समेत आयोजित साधारण सभामा जानकारी दिइयो ।
साधारण सभामा शेरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष लिम्बु तथा कम्पनीका सञ्चालक सदस्य बालकृष्ण शिवाकोटी र कम्पनीका प्रबन्ध सञ्चालक रघुनाथ पुरीले दिएका थिए ।
साथै आयोजनाको गतिविधिबारे वृत्तचित्रमार्फत कम्पनीका सीइओ प्रकाश भण्डारीले जानकारी दिएका थिए । यसैबीच विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।

प्रकाशित :
मंगलबार, आषाढ १६ २०८३०९:२३
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।