२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड


  • मेरोभ्यूज
  • आषाढ १६, २०८३ मंगलबार

  • पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

     

    चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अवस्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू पूजाआजासमेत गर्दछन् । यसलाई शेर्पाहरूले आमा छ्यूमेनका रूपमा पूजा गर्दछन् ।

    समुन्द्री सतहबाट छ हजार पाच सय ६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुन्द्री सतहबाट चार हजार एक सय २४ मिटरको उचाइमा पर्दछ ।

    भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार सो ताल करिब ८४ हजार एक सय ९३ वर्गमिटरमा फैलिएको छ तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन ।

    कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने एक सय ९८ मिटर अग्लो झरना आकर्षण थपेको छ ।

    पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित हुन्छन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिकरूपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिन साथ पुगिन्छ, प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ ।

    अरनिको राजमार्गको एक सय नौ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।

    विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरूको खचा-खच हुने गर्दछ । वि.सं. १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ ।

    तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।

    भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोर-मकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउँछिन् ।

    यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किंवदन्ती छ । महादेवको उग्ररूप अर्थात् भैरव सम्हारकर्ताका रूपमा मानिन्छ ।

    भगवान् शिवको क्रीडास्थलका रूपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो ।

    भैरवकुण्ड नजिकै अर्को प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् ।

    किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्री भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् ।

    आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् ।

    भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भू-भाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका हुन् भन्ने भनाइ स्थानीय बुद्ध श्रेष्ठको छ ।

    तिब्बतको खासा तथा कुतीसम्मको भू-भाग र काठमाडौंको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरू देख्न सकिन्छ ।

    भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।

    चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो ।

    त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

    हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ ।

    यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ ।

    बीचमा चौँरीका गोठहरूमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरूलाई थप सहजताका लागि अब भने बाटामा पानी तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् ।

    पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ ।

    पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचार-प्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटकको पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभइ सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।


    प्रकाशित : मंगलबार, आषाढ १६ २०८३०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार