२०८३, कार्तिक ११ गते बुधबार

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण


  • मेरोभ्यूज
  • आषाढ १९, २०८३ शुक्रबार

  • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

     

    तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो ।

    देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा एक सय ८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् ।

    विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिए ।

    पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकूल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ ।

    देवघाटका गुरुकूलहरु देशमै ख्याती प्राप्त रहेको कारण देशका अन्य गुरुकूलभन्दा देवघाटका गुरुकूलमा विद्यार्थीको आकर्षण बढ्ने गरेको उनले बताए ।

    विगतमा संस्कृत अध्ययनका लागि भारतको बनारस र बृन्दावन जाने प्रचलन थियो ।

    भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराणलगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ ।

    तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेको उनले उल्लेख गरे ।

    सोही वडास्थित महेश संस्कृत गुरुकूलले ३२ जना विद्यार्थीको लागि आवेदन खुलाउँदा दुई सय ५० भन्दा बढी प्रवेश परीक्षामा सहभागी भएका छन् ।

    देवघाटमा रहेका तीनवटा गुरुकूलले कक्षा ६ मा प्रत्येक वर्ष २५ देखि बढीमा ३५ जनासम्म विद्यार्थी भर्ना गर्ने गरेको छ ।

    केही वर्षयता गुरुकूलमै बसेर संस्कृत पढ्न चाहनेहरुको सङ्ख्या बढिरहेको महेश संस्कृत गुरुकूलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताए ।

    उक्त गुरुकूलले प्रत्येक शैक्षिक सत्रमा बढीमा ३२ जना मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ ।

    खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले अभिभावकहरुको रोजाइ गुरुकूल हुने गरेको छ । त्यसबाहेक संस्कृत भाषा र हिन्दू धर्मप्रतिको बढ्दो आकर्षणले विद्यार्थीहरु गुरुकूल आउने पौडेलको भनाइ छ ।

    देवघाटमा सञ्चालित सबै गुरुकूलहरु दाताको भरमा नै सञ्चालन हुँदै आएका छन् ।

    राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचार-प्रसार गर्ने उद्देश्यले तीन गुरुकूलहरु सञ्चालित छन् ।

    गुरुकूलहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् ।

    देवघाटमा बटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकूल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकूल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल र बालिकाहरुको लागि माताजीले सञ्चालन गरेको माँ कल्याणी वैदिक कन्या गुरुकूल सञ्चालनमा छन् ।

    देवघाटमा सञ्चालित सबै गुरुकूलमा करिब सात सय बटुक अध्ययनरत छन् ।

    प्रत्येक गुरुकूलमा करिब दुई सय २५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् ।

    महेश संस्कृत गुरुकूलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाइ भइरहेको छ ।

    परमानन्द संस्कृत गुरुकूलमा आचार्यसम्मको पठन-पाठन शुरु गरिएको छ । त्यस्तै वेद वेदाङ्गमा शास्त्री तहसम्मको पढाइ हुन्छ ।

    ती सबै गुरुकूलले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएका छन् । शास्त्री तथा आचार्य तहका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ ।


    प्रकाशित : शुक्रबार, आषाढ १९ २०८३०८:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार