चितवन । पाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
अस्पतालले रु १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रु चार करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल रु १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ ।
बजेट अभाव भएका कारण हाललाई सुरुआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए । निर्माण थालेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ ।
तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अप्रेशन थिएटर) सञ्चालन हुनेछ । विसं २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो ।
स्थापनाकालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदान गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ ।
हाल अस्पतालमा बहिरङ्ग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरङ्ग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चश्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवालगायत सेवा उपलब्ध रहेको धरेलले जानकारी दिए ।
अस्पतालले सेवा विस्तार गर्न क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ । ठोरीको गौतमनगर, नवलपुरको कावासोती र बाराको सिम्रौनगढमा आँखा अस्पताल सञ्चालन गरेको छ । चितवनको माडी, रत्ननगर, पर्सा, चनौली, कुरिनटारमा आँखा उपचार केन्द्र रहेका छन् भने जिल्ला बाहिर धादिङको नरसिंहधाम सल्यानटार, सिन्धुलीको दुधौली, नवलपुरको हुप्सेकोट, नवलपुरकै चोरमारा र धादिङको बेनिघाटमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
भरतपुर ओरालोमा बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातदेखि आठ सय जनासम्मले सेवा लिँदै आएका छन् । अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गर्ने योजनासहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ ।
अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिसकेका छन् । जीवित छँदै आँखा दान गरेकाहरूको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी सङ्कलन गरेर आँखा प्रत्यारोपण गर्ने गरिन्छ ।

