२०८३, कार्तिक ११ गते बुधबार

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका


  • मेरोभ्यूज
  • आश्विन २८, २०८१ सोमबार

  • ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

    सुन्दरबजार, लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ ।

    आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेको थियो । काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ चित्रकार सापकोटाले ।

    विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनले बताए ।

     “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन । एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन ।

    “फुपूदिदीको घरमा फर्निचर उद्योग भएको थियो । सुरुवाती दिनमा त्यहाँ गएका रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ”, उनले भनिन ।

    फुर्सदको समयलाई त्यतिकै फाल्नु हुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्छिन । यसबाट ध्यान विकेन्द्रित नहोस र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

    “अहिले रङ्गमा हात बसिसकेको छ”, सापकोटाले भनिन, “सुरुवाती चरणपछि आफैँले रङ्ग, ब्रस र कागज किनेर ल्याई क्यानभासमा चित्र बनाउन थालेकी थिएँ ।” एउटा चित्र बनाउन डेढदेखि दुई घण्टा लाग्ने उनले जानकारी दिए ।

    चित्र बनाउँदै गर्दा भेटिएकी सापकोटाले भनिन, “चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।” उनले एउटा चित्र न्यूनतम रु सात हजारसम्म र अधिकता रु १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन ।

    कम्प्युटरमा काम गर्ने भएका पनि आवश्यक रङ्ग, ब्रस र कागज ‘अनलाइन’बाट मगाउने गरेको बताउँदै सापकोटाले चित्र बनाउने माग पनि अनलाइनबाट बढी आउने गरेको जानकारी दिइन ।

    विदेशमा रहेका साथीभाइ र आफन्तले प्रोत्साहन तथा प्रचार-प्रसार गरिदिएको उनको भनाइ छ । विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु वीस हजार र अष्ट्रेलियामा रु १२ हजारमा बिक्री हुने गरेको सापकोटाले बताइन ।

    पोखरामा फपूदिदीको घरमा बसेर पढ्दा आफूले सिकेको कलाकारितालाई उनले जतनका साथ निखार ल्याउँदै छिन ।

    नेपालमा पनि अनलाइनबाट चित्र बनाउन माग आउने भन्दै अनलाइनबाटै बिक्री हुने गरेको उनको अनुभव छ । चित्र कस्तो, रङ्ग कुन मन पर्ने भन्ने कुरा मानिसको व्यक्तित्वमा भर पर्ने बताउँदै माग रङ्ग समायोजन गरेर चित्र बनाउने गरेको कलाकार सापकोटाले उल्लेख गरिन ।

    “माग(अर्डर) आएका चित्र सबै बनाउन समय पर्याप्त भएको छैन । आइटीको क्षेत्रमा काम गर्ने भएकाले व्यस्तता पनि निकै छ, फुर्सदमा रङ्गहरुसँग खेल्ने गरेकी छु”, उनले भनिन । चित्र बिक्री हुँदा र पुरस्कार पाउँदा अझ बढी गरुँ गरुँ लाग्ने सापकोटाले अनुभव सुनाइन ।

    गत वर्ष गण्डकी प्रज्ञा-प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएको जानकारी दिँदै उनले त्यसबाट प्राप्त हौसलाले ठूलो ऊर्जाको काम गरेको बताइन ।

    घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ । आँट र मेहनत गर्ने हो भने जस्तोसुकै कठिन काम गर्न पनि सकिन्छ भन्ने एरिकाले त्यसका लागि तालिम वा प्रत्यक्ष कक्षा लिनु नपर्ने बताइ ।

    “पछिल्लो समय प्रविधिमा भएको विकासका कारण इन्टनेटको माध्यमबाट जस्तोसुकै काम गर्न र सिक्न सकिँदो रहेछ”, उनले भनिन, “परिवार र आफन्तको सहयोगले आत्मनिर्भर बनाउँदै लगेको छ ।” अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।


    प्रकाशित : सोमबार, आश्विन २८ २०८११०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार