२०८३, कार्तिक ११ गते बुधबार

मकै बेचेर जीवन निर्वाह

मकै बेचेर जीवन निर्वाह


  • मेरोभ्यूज
  • कार्तिक ८, २०८१ बिहीबार

  • मकै बेचेर जीवन निर्वाह

    धरान, सुनसरी । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ ।

    दिनभर अरुको मजदूरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन ।

    राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउछिन । दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन ।

    उनले पोलेको सानो मकै घोगा रु वीस र ठूलो मकै रु चालिससम्ममा बिक्री गर्दै आएको छ । उनले भनिन, “विगत वीस वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।

    ” दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन । “महिनामा रु तीस हजारदेखि रु चालिस हजारसम्म कमाई हुन्छ”, उनले भनिन ।

    इटहरी–२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छिन । उनले भनिन, “बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।” मकै प्रतिघोगा रु दसदेखि रु पन्ध्र मा खरिद गरेर रु वीसदेखि रु पेतीससम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन ।

    फुर्सदको समयमा उनले जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन । उनले भनिन, “बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु तीस हजारदेखि रु चालीस हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु ।”

    इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छिन ।

    मण्डलले भनिन, “अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।” महिनामा रु वीस हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।


    प्रकाशित : बिहीबार , कार्तिक ८ २०८१११:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार