२०८३, कार्तिक ११ गते बुधबार

बगेर खेर गएकोछ भोटको नून

बगेर खेर गएकोछ भोटको नून


  • मेरोभ्यूज
  • मंसिर १२, २०८१ बुधबार

  • बगेर खेर गएकोछ भोटको नून

    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नून आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गरिन्थ्यो ।

    “मुस्ताङमा मात्र नभएर यो खानीको नून म्याग्दी, पर्वत, बागलुङमा भोटको नूनले परिचित थियो”, उनले भने, “आयोडिन मिसाएको नून आउन थालेपछि हाम्रो खानीको नून नर्साङखोलामा बगेर खेर गइरहेको छ ।”

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नूनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नून’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ ।

    तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नूनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नूनिलो पानी निस्कने चारवटा मुहान छन् ।

    प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नूनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताए ।

    गुरुङका अनुसार आयातित नूनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन ।

    “पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०–७० मुरी नून निकाल्ने गर्दथे”, उनले भने, “अहिले नून निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।”

    स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नूनीलो पानीलाई सुकाएर ढिक्के नून उत्पादन गर्दथे । नूनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नून बनाउने गरिएको थियो ।

    मुहानबाट पाइपमार्फत कुण्डमा नूनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् । पहिले खाली जमिनमा सुकाइने नूनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो ।

    उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नून खानका लागि खानीमा आउने गर्छन् । नूनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् ।

    घुम्न गएका पर्यटकले नूनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् ।

    बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नून निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् ।

    राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नून उत्खननको जिम्मा दिइएको थियो ।

    शेरचन र उनका सन्तानहरू बसाइँ सरेर काठमाडौँ गएपछि खानी उत्खनन हुन छाडेको हो ।

    म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्तौँ पैदलयात्रा गरेर मुस्ताङमा नून लिन जाने गर्दथे । बेनी नगरपालिका–५ का केदार पौडेलले मुस्ताङ गएर चामलसँग साटेर नून ल्याउने गरेको सम्झन्छ ।

    “मुस्ताङमा धानखेती नहुने भएकाले हामीले यताबाट चामल बोकेर लैजाथ्यौँ र एक पाथी चामलको एक पाथी नून ल्याएर आउथ्यौँ”, ७० वर्षीय पौडेलले भने,“ पछि पुतलीखेतमा गाडी आएपछि नून ल्याउन मुस्ताङ जान छाडियो ।

    अहिले त आयोडिनयुक्त नून गाडीले गाउँगाउँमै ल्याउँछ । ”गाउँघरमा बूढापाकाहरूले भोटको नून ल्याउन थाकखोला जाँदाको अनुभव सुनाउने गर्छन् । भोटको नून अहिले एकादेशको कथामा सीमित भएको छ ।

    जोमसोमबाट तल पर्ने थकाली समुदायको बसोबास भएको बस्तीलाई थाकखोला भन्ने गरिन्छ । नूनको माग रहेको बेला तेताङका धेरैले रोजगारी पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नून खान नपरे आफूहरूलाई ठीक हुने स्थानीयवासीको माग छ ।

    विसं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगतरूपमा नून खानीको अध्ययन गरेको थियो । टोलीले यो खानीको नूनमा ७० दशमलव २८ प्रतिशत देखि ९३ दशमलव ७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नून खान योग्य भएको पुष्टि गरेको थियो ।

    जोमसोमदेखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नूनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डे आफैँ नूनखानीको अनुगमन गर्न आएको थियो ।

    पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार मुस्ताङको नूनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नूनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो ।

    विभागका अनुसार नूनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् । निजी क्षेत्रले चासो नदेखाएपछि नूनखानी उत्खननको विषय ओझेल परेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष विनोद गुरुङले बताए ।

    “भूगोल हाम्रो भए पनि खानी उत्खनन गर्ने सामर्थ्य र अधिकार गाउँपालिका वडालाई छैन”, उनले भने, “खानीलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । त्यसका लागि बाटोको समस्या छ ।”

    सडकमार्गको पहुँच र नूनखानी रहेको पहाडबाट बग्ने नूनिलो पानीलाई पाइप लाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सम्भावना छ ।

    परम्परागतरूपमा विगतमा नूनको उत्खनन भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न आवश्यक छ । उत्खनन भएको नूनलाई आयोडिन मिसाएर प्रयोगयोग्य बनाउन सकिन्छ ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले नूनखानी भएको ठाउँलाई तेताङ र छुसाङका बासिन्दाहरूको आफ्नो भूगोलमा पर्ने दाबी गर्दा विवाद भएको र व्यक्तिगत जग्गामा खानी भएकाले त्यसका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताउनुभयो । यसअघि गाउँपालिकाले २०७५ सालमा नुनखानीबाट निस्कने नुनिलो पानी सङ्कलन गर्ने तीनवटा पोखरी बनाएको थियो ।

    गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना नर्साङखोलाको बाढीले क्षति पुर्याएको छ ।

    मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए ।

    मुस्ताङमा नूनको मात्र नभएर युरेनियम, कोइला र ग्यासको खानी छ । मुक्तिनाथ मन्दिर परिसरमा ग्यासको खानी भएकाले त्यहाँ निरन्तर बलिरहने ज्वाला छ ।

    खानी तथा भूगर्भ विभागले २०७०/७१ सालमा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमी लम्बाइ र तीन किमी चौडाइमा युरेनियम भेटिएको थियो ।

    युरेनियनको खानीको संरक्षण र सुरक्षाका लागि लोमान्थाङको लुङखुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ ।

    युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । जोमसोम नजिकैको ठिनी लेकमा कोइला खानी छ । मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सृर्जना, नून आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।


    प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार