२०८३, कार्तिक ११ गते बुधबार

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला


  • मेरोभ्यूज
  • चैत्र १८, २०८१ सोमबार

  • ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

    सुनसरी । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले ढकिया बुन्ने तालिम दिइएको हो उक्त तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।

    रामधुनी-५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेको छ । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घ/संस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उनले जानकारी दिए ।

    उनले भने, “अहिले मैले महिलालाई ढकिया बुन्ने तालिम दिँदै आएको छु । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।”

    ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाह, पाटीलगायत कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगषर बन्दै गएका सङ्गीताले बताए ।

    पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उनले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आइएको उनले उल्लेख गरे ।

    सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्न थालेको जानकारी दिए ।

    उनका अनुसार यहाँ बनेका ढकिया दमक, झापा काठमाडौं, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उनले भने, “यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च टार्न र महिलाका निजी आवश्यकता पूरा गर्न पुग्छ ।“

    ढकिया बुन्ने तालिमपछि यहाँबाट प्रशस्त आम्दानी गर्न सकिने रहेछ भनेर मलाई आत्मविश्वास बढेको छ रामधुनी-५ का निलम चौधरीले बताए ।

    “पहिले मलाई ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन । पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेकी हुँ ।”

    आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उनका अनुसार रु. पाँच सयदेखि रु. चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ ।

    सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाए ।

    “यसका बारेमा केही ज्ञान पेसा पुर्खाहरूबाट जानेकी थिएँ । यो हाम्रो संस्कृतिसँग पनि जोडिएकाले यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी हुँ”, उनले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा यहाँ महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ ।

    कञ्चनले महिनामा दसवटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गरे । “बढी माग हुँदा रातभर बुनेर पूरा गर्नुपर्छ । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव भने हुँदैन । ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिन्छ । दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ”, उनले भने । उनका अनुसार ढकियामा धागो, मोती, कासको प्रयोग हुन्छ ।

    “धागो र मोती हामीले खरिद गर्नुपर्छ । कास भने कोशी किनारमा प्रशस्त पाउन सकिन्छ । त्यहीँबाट लिएर आउने गरेका छौँ”, कञ्चनले भने । यस सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जनमा सहयोग पुग्ने उनको अनुभव छ । अहिले रामधुनी-५ मा मात्रै ढकिया बुन्ने महिला एक दर्जन बढी छन् ।


    प्रकाशित : सोमबार, चैत्र १८ २०८१०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार