२०८३, कार्तिक ११ गते बुधबार

जुस बनाएर अतिरिक्त आम्दानी

जुस बनाएर अतिरिक्त आम्दानी


  • मेरोभ्यूज
  • चैत्र १८, २०८१ सोमबार

  • जुस बनाएर अतिरिक्त आम्दानी

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।

    अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ-म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा रु. दुई लाख आम्दानी गरेका हुन् ।

    “बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ,” मैनाले भने, “जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आउँछन् ।” बेमौसममा सुन्तलाको जुस सानो गिलासको रु. दुई सय ५० र ठूलो गिलासको तीन सय ५० का दरले बिक्री हुने गरेको उनको भनाइ छ ।

    आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताए । “उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ”, उनले भने ।

    मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमौसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौँका जनार्दनदेव पन्तले बताए ।

    जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताए । खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दानाका सुन्तला चैत महिनासम्म रहने उनले जानकारी दिए ।

    ठूला दानाका सुन्तला माघमा टिप्ने घरापका किसानले साना दानाका सुन्तलालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन् । सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन् । घरापमा वीस परिवारको बसोबास छ । अधिकांशले सुन्तला खेती गरेका छन् ।

    रोजगारीका लागि मलेसियामा दुई वर्ष बिताएर फर्किएका ४९ वर्षीय प्रेम र उनकी श्रीमती मैनाले घरापमा रेष्टुरेन्ट र होटल पनि सञ्चालन गरेको छ ।

    अन्नपूर्ण आधार शिविर, मुस्ताङ जाने-आउने र नारच्याङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालित होटलमा दैनिक ३० जनासम्म बास बस्न सक्ने क्षमता रहेको प्रेमले जानकारी दिए ।

    तिलिजा दम्पतीले सञ्चालन गरेको न्यू कालीगण्डकी रेष्टुरेन्ट एण्ड लजमा शान्त र एकान्त वातावरणमा रमाउन पाइनुका साथै लोकल कुखुरा, हाँस र बङ्गुरको मासु, साग, सुन्तलाको जुस, कोदोको ढिँडोलगायत परिकार पाइन्छन् ।


    प्रकाशित : सोमबार, चैत्र १८ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार