२०८३, कार्तिक ११ गते बुधबार

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो


  • मेरोभ्यूज
  • बैशाख २१, २०८२ आइतबार

  • सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

    म्याग्दी । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ ।

    मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो ।

    ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा-६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए ।

    “पहिले ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्थ्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामा पुग्न सकिने भएको छ”, उनले भने ।

    चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु. आठ लाख बजेटमा समुदायको अगुवाइमा थप रु. १२ लाख जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

    सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दासमेत ट्याक निर्माणले पूर्णता पाउन नसकेपछि देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा सङ्कलन गरेर सडकलाई जोगी देउराली डाँडासम्म पुर्याइएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले बताए ।

    गत वर्ष गाउँपालिकाबाट रु. १० लाख र स्थानीयवासीको चन्दा सङ्कलनबाट रु. आठ लाख बजेट जुटाएर सरघारीसम्म सडकको ट्याक निर्माण गरिएको थियो । अहिले सडकको ट्याक पुगेको देउरालीधुरीमा सवारीसाधन पार्किङका लागि जग्गा सम्माइएको उनले जानकारी दिए ।

    प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी पुग्ने सडकको ट्याक निर्माणमा पालिकाको बजेटमा श्रमदान र सहयोग जुटाएर लक्ष्यभन्दा बढी काम गरी उपभोक्ता समितिले उदाहरणीय काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

    “हामीले सडकको अनुगमन पनि गरेका छौँ, पालिकाको बजेटभन्दा बढी रकम समुदायस्तरबाट जुटाएर निर्माणमा खर्च गरेको पाएका छौँ, विकासमा सरकार र समुदायको साझेदारीले उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण ठाडाखानीवासीले दिएका छन्”, उनले भने ।

    उनका अनुसार मालिकाधुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट सडक निर्माण भइरहेको छ ।

    समुद्री सतहबाट तीन हजार चार सय मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिकाधुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृष्यावलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ ।

    मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पशुपंक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वनपैदावार थप आकर्षण हुन् ।

    पर्यटकीयस्थलको रूपमा विकास गर्न लागिएको मालिकाधुरीमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । चण्डी पूर्णिमा, ज्येष्ठी पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा यहाँ विशेष पूजा गरिन्छ ।

    मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहेको स्थानीयले बताए ।

    वि.सं. १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ ।

    भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिकले बताए ।


    प्रकाशित : आइतबार, बैशाख २१ २०८२११:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार