२०८३, कार्तिक ११ गते बुधबार

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजना

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजना


  • मेरोभ्यूज
  • बैशाख २४, २०८२ बुधबार

  • गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजना

    म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ ।

    गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु. छ लाख सहयोग गरेको हो ।

    चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु. वीस लाख बजेट विनियोजन गरेको, गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु. छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु. दुई/दुई लाख उपलब्ध गराएका बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए ।

    कुल रु. ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले रु. २४ लाख ३६ हजार पाच सय ७१ मा ठेक्का लिएका थिए ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।

    परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले जानकारी दिए ।

    गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवत-जावतको ब्यवस्था मिलाइने वडाध्यक्ष केसीले बताए ।

    भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ‘डिजाइन’ गरिएको छ ।

    गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

    उनका अनुसार चालु आ.व.को साउनदेखि फागुन मसान्तसम्म भेटीलगायत शीर्षकबाट रु. ६६ लाख दुई हजार नौ सय ९३ आम्दानी र रु. ४० लाख नौ हजार चार सय ५२ खर्च भइ रु. २५ लाख ९३ हजार पाच सय ४१ बचत भएको छ ।

    गत वर्ष कोषले भेटीमार्फत सङ्कलन भएको रकम परिचालन गरेर रु. १२ लाखको लागतमा ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरेका थिए ।

    कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

    हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ ।


    प्रकाशित : बुधबार, बैशाख २४ २०८२१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार