२०८३, कार्तिक ११ गते बुधबार

सामूहिक तरकारीखेती

सामूहिक तरकारीखेती


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • सामूहिक तरकारीखेती

    म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिकरूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन् ।

    करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताइन ।

    “गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो”, उनले भनिन, “तरकारी आयात घटाउने, स्थानीयबासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्गानिक स्वाद पस्किने उद्देश्यले सामूहिक खेती गरेका हौँ ।”

    समुन्द्री सतहबाट दुई हजार सात सय मिटर उचाइमा रहेको, सडक यातायातको सुविधा नपुगेको गुर्जा म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित छ । उच्च पहाडी क्षेत्रमा अवस्थित गुर्जामावेष गरेर खुर्सानी आयात हुने गर्दछ ।

    धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले परिक्षणका लागि गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य खेती विस्तार गर्न थालिएको बताए । उनका अनुसार यसअघि घुम्ती व्यापारीले बोकेर लैजाने खुर्सानीलाई प्रतिकिलो रु. चार सयका दरले किन्नुपर्ने अवस्था छ ।

    गुर्जाबासीले बर्खायाममा जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ, ढकायोको टुसालाई तरकारीका रूपमा उपभोग गर्नुका साथै आफन्तलाई कोसेली पठाउने र बिक्रीसमेत गर्छन् । हिउँद याममा भने तरकारीको अभाव हुने भएकाले खेती गर्न थालिएको वडाध्यक्ष छन्त्यालले उल्लेख गरे । स्थानीय जातको मुलालाई धजरा, गुन्द्रुक, च्याउको सुकुटी बनाएर हिउँदमा तरकारीको रूपमा प्रयोग गर्छन् ।

    सामूहिकरूपमा तरकारीखेतीसम्बन्धी आधुनिक प्रविधि र सीप सिकाउने काम भइरहेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले बताए । तीनवटा प्लास्टिक टनेल बनाएर टमाटरखेती र तरकारीको बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए ।

    किसानलाई तरकारीखेतीसम्बन्धी तालिमका साथै बीउ र टनेल खरिदमा गाउँपालिकाले सहयोग गरिरहेको प्राविधिक थापाले बताए । यहाँ दलित र अल्पसङ्ख्यक छन्त्याल समुदायका दुई सय ५० परिवारको बसोबास छ । छन्त्याल संकृतिमा रमाउन र प्राकृतिक सौन्दर्यमा रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार