म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।
पैतीस मेगावाट क्षमताको चिमखोला–मङ्गले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वरस्थित राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्डसम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो ।
नेपाल विद्युत प्राधिकरणमार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधीन सवस्टेशन सम्पन्न नहुँदासम्मको लागि अस्थायीरुपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मङ्गले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए ।
चिमखोला–मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइपलगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।
चिमखोलादेखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले जानकारी दिए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत जोडिने उनले जानकारी दिए । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् ।
चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइनमार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्वीचयार्डसम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् ।
परीक्षण शुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदि किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले हालै एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेका छन् ।
रघुगङ्गा गाउँपालिकाको वडा नं. ३, ४ र ७ मा प्रसारण लाइन र टावर निर्माण भएको छ ।
विद्युतगृहमा पानी हाल्न थालेपछि नदिको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदि किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।

