२०८३, कार्तिक ११ गते बुधबार

धरान-चतराखण्डको तीनवटा पुल निर्माण

धरान-चतराखण्डको तीनवटा पुल निर्माण


  • मेरोभ्यूज
  • भाद्र १२, २०८२ बिहीबार

  • धरान-चतराखण्डको तीनवटा पुल निर्माण

     

    सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान-चतरासडकखण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीनवटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।

    यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै शुरु हुन सकेको छैन ।

    निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

    उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

    त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

    “रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण शुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम शुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले जानकारी दिए ।

    कम्पनीले चारवटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु. २१ करोड ७८ लाख ६३ हजार सात सय ५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण शुरु गरिएको थियो ।

    तीनवटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए ।

    छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।

    उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।”

    उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो ।

    पुल नहुँदा वर्षायाममा सास्ती भोग्नु परेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।


    प्रकाशित : बिहीबार , भाद्र १२ २०८२०८:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार