म्याग्दी । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी दसवटा योजनाका लागि रु. एक करोड वीस लाख विनियोजन भएकोमा रु. ९६ लाख २९ हजार आठ सय ७६ खर्च भएको थियो ।
योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए ।
“सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएको योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ ।”
पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदूरलाई आवत-जावतमा सहज भएको छ ।
धौलागिरि गाउँपालिका–५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार चार सय ६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने आठ सय ५० मिटर ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिका–२ भगवतीको माँझखर्कदेखि ओखरबोटहुँदै साझपानी जोड्ने चार सय दस मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने दुई सय ९० मिटर, बिम तल्लोगाउँमा दुई सय ९० मिटर, अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा पाच सय ५० मिटर र बेनपा–६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने तीन सय ५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका–७ को बराह पाखोमा उद्यान र बेनी नगरपालिका–२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।
नयाँ पर्यटकीय गन्तव्यको रूप्मा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ ।
नागीदेवी मन्दिरमा दुईवटा चौतारी र सय मिटर तारजालीले घेराबार गरिएको छ ।
बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ ।
बराह पाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुङ्गा छपाउन जमिनमा ढलान र लामको बेञ्च राखिएको छ ।

