२०८३, कार्तिक ११ गते बुधबार

पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रसारणलाइनको विद्युत् विस्तार

पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रसारणलाइनको विद्युत् विस्तार


  • मेरोभ्यूज
  • आश्विन ५, २०८२ आइतबार

  • पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रसारणलाइनको विद्युत् विस्तार

     

    म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रसारणलाइनको विद्युत् विस्तार गरेको छ ।

    नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रिय लाइनको विद्युत् विस्तार भएको हो ।

    मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए ।

    उपभोक्ताको घर-घरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरे ।

    यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए ।

    ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरेको बताए ।

    म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ देखि रु. २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ ।

    उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका छ सय, धवलागिरि गाउँपालिकाको मलम्पारका एक सय ५०, बुलका ४५ र चिउरीबोटका एक सय ३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिए ।

    धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरे ।

    “धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रिय विद्युत् विस्तार भइरहेको छ ।

    अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल मोहरेडाँडामा पनि केन्द्रिय विद्युत् सुविधा पुर्याउने योजना छ”, उनले जानकारी दिए ।


    प्रकाशित : आइतबार, आश्विन ५ २०८२०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार