म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताइन् ।
“धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,” उनले भनिन्, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”
रु. ५७ लाख दस हजार आठ सय ६० लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले रु. ६४ हजार नौ सय ६१ बराबरको श्रमदान गरेका छन् ।
रु. ११ लाख ६६ हजार चार सय २४ मा स्टिल पार्टस खरिद र उपभोक्ता समितिलाई रु. ३१ लख ८३ हजार ९१ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख सव-इञ्जिनियर रुचेन्द्र अधिकारीले जानकारी दिए ।

