म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन् ।
परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परिक्षण सफल भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।
“गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परीक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,” उनले भने, “अर्को चरणमा फापर, जौँ र उवाको पनि बिस्कुट बनाउने तयारी छ ।”
कोदो, फापर, जौँ र उवा पिस्ने मिल, प्रशोधन र पिठो पकाएर बिस्कुट बनाउने उपकरण ल्याएर जडान गरिएको छ ।
समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदय, पहाडी भूगोल, धौलागिरी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भीम शेरचनले उद्योगले स्थानीय किसानले उत्पादन गरेको रैथाने बालीको खपतका साथै टोड्केको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने जानकारी दिए ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारको रु. ७५ लाख र रघुगङ्गा गाउँपालिकाको रु. २५ लाख बजेटबाट झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सञ्चालन भएका थिए । परियोजनामार्फत तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको छ ।
पचहत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर (हलो), १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन, थप ८२ वटा जौँ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकिज उत्पादन गर्ने मेसिन, एक सय ६६ थान त्रिपाल, एक सयवटा तीन सय किलोग्राम तौल क्षमताको मेटल बिन, वीस एमएमको चार हजार तीन सय ६४ मिटर, २५ एमएमको एक हजार पाच सय, ३२ एमएमको चार हजार दुई सय र ४० एमएमको दुई सय मिटर पाइप वितरण भएको छ ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ, कोदो, फापर र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिएका थिए ।
झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सिप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो ।

