२०८३, कार्तिक ११ गते बुधबार

पक्की सडक

पक्की सडक


  • मेरोभ्यूज
  • आश्विन २०, २०८२ सोमबार

  • पक्की सडक

     

    म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

    आर्थिक वर्ष २०८१/०८२ कोसहित वि.सं. २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार एक सय ४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सिनियर डिभिजनल ईञ्जिनियर डा. महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटासहित एक सय १२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए ।

    उनका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटरसहित हालसम्म सात सय ६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

    गत वर्षको पाँचवटासहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको ई. डा. बानियाले बताए ।

    गत आर्थिक वर्षमा रु. १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा रु. नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।

    तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए ।

    यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको उनले बताए ।

    मन्त्रालयले गत वर्ष रु. चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एकवटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।

    हाल दुई सय ७१ बहुवर्षीय योजना निर्माणाधिन छन् । निर्माणाधिनमध्ये एक सय ८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीनवटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीनवटा भवन छन् ।

    मन्त्रालयले सञ्चालन गरेका वीस योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा रु. दस अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा रु. चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार बिनियोजन भएको छ ।

    सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको ब्यवस्थापन गरेको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले जानकारी दिए ।

    गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको रु. एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरेको थियो ।


    प्रकाशित : सोमबार, आश्विन २० २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार