२०८३, कार्तिक ११ गते बुधबार

ओखरबोटमा पुन:तामाखानी सञ्चालन

ओखरबोटमा पुन:तामाखानी सञ्चालन


  • मेरोभ्यूज
  • आश्विन २३, २०८२ बिहीबार

  • ओखरबोटमा पुन:तामाखानी सञ्चालन

     

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण शुरु भएको छ ।

    तामाखानी अन्वेषण गर्न खानी तथा भू-गर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रा.लि.का भू-गर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् ।

    मालिका गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ ।

    तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भू-गर्वविद् रोनित पौडेलले जानकारी दिए ।

    “प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,” उनले भने “खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।”

    ओखरबोटको खानीबाट वि.सं. २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो ।

    प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका-३ का ७२ वर्षीय विसराम पटेलले सुनाए ।

    यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए ।

    तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्वाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।

    वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखितरुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए ।

    खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दिपक पटेलले जानकारी दिए ।

    “खानी उत्खनन भयो भने पुस्तौँअघिदेखि बसोबास गर्दै आएको थातथलो छोड्नु पर्ने हुन्छ,” उनले भने “उत्खनन अघि बस्ती स्थानान्तरण र रोजगारीको अवसरमा प्रभावितलाई प्राथमिकता दिनुपर्छ ।”

    स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका-४ (साविक ओखरबोट-८) खटेनडाँडास्थित तामाखानी मुख्य हो ।

    धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् ।

    खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको सिप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।


    प्रकाशित : बिहीबार , आश्विन २३ २०८२१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार