म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् ।
नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् ।
राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिए ।
“करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवत-जावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो, सरकारी निकायको आश गर्दा ढिलाइ हुने भएकोले राम्चेका सबै घरबाट एक/एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ”, उनले बताए ।
पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जीप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले सुनाए ।
अन्नपूर्ण गाउँपालिका–७ महभिरदेखि हिस्तान–काफलडाँडा हुँदै राम्चे जोड्ने सडक घुमाउँरो र जोखिमयुक्त भएकोले राम्चेवासीले सदरमुकाम बेनी आवत-जावत गर्न नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्छन् ।
अन्नपूर्ण गाउँपालिका–८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दालाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीको सेवा लिन आवत-जावत गर्न समस्या भएको थियो ।
सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माध्यमिक विद्यालयमा पढ्ने राम्चे, काफलडाँडाका विद्यार्थीलाई पनि सहज भएको छ ।

