भोजपुर । यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेको छ ।
आफूले कमाएको रकम र सिपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीयसमेत बनेको छ ।
आफूलाई विदेशमा बस्ने सुविधा हुँदा-हुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागेको उनले बताए । समाजलाई केही सेवा गर्ने लक्ष्यले वि.सं. २०७५ बाट व्यावसायिकरुपमा बाख्रापालन गरिरहेको उनले बताए ।
“करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ” उनले भने, “मलाई त्यही बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।” उनले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिकरुपमा यो पेसामा लागेको हो ।
करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, वोयर, स्थानीय खरीजातलगाएतका बाख्रा रहेका छन् ।
व्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनको भनाइ छ ।
उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए ।
आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरुलाई केहि ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ ।
व्रिटिस सेनाको जागिर पश्चात उनले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।
व्यावसायिकरुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानहरुलाई स्थानीय सरकारले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए ।
व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।

