२०८३, कार्तिक ११ गते बुधबार

रु. एक करोड खर्चेर अतिथि आवासगृह निर्माण

रु. एक करोड खर्चेर अतिथि आवासगृह निर्माण


  • मेरोभ्यूज
  • कार्तिक ११, २०८२ मंगलबार

  • रु. एक करोड खर्चेर अतिथि आवासगृह निर्माण

     

    बागलुङ । भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुईवटा अतिथि आवासगृह निर्माण गरिएको छ ।

    बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरुको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो ।

    जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न ५१ जनाले प्रदान गरेको रु. एक करोड रकमबाट २६ जनासम्म बस्न मिल्ने अतिथि आवासगृह निर्माण गरिएको बिहुँकोट समाज जापान तथा अतिथि आवासगृह निर्माणका संयोजक दिपक कँडेलले जानकारी दिए ।

    तल्लो र उपल्लो दुई कोतघरमै दुई पक्की अतिथि अवासगृह निर्माण गरेर फूलपातीको दिन हस्तान्तरण गरिएको कँडेलले बताए । उनले हालसम्म रु. एक करोड दस लाख रकम सङ्कलन भइसकेको र कोतघरमा अन्य पूर्वाधारको कामसमेत हुने बताए ।

    दुई अतिथि आवास निर्माणमा भने रु. एक करोड खर्च भइसकेको बताए ।

    रोजगारीको सिलसिलामा जापानमा रहेका बिहुँकोट निवासीबाट सङ्कलन भएको रकमबाट बिहुँकोत मन्दिरमा विभिन्न पूर्वाधार निर्माणसँगै फूलपाती मेलाको आयोजना गरिन थालेको जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कँडेलले जानकारी दिए ।

    उनले बिहुँकोटमा आउने भक्तजनलाई खाना र बस्नको व्यवस्थापनका लागि आवासगृह निर्माण गरिएको बताए ।

    उनले प्रचार-प्रसारको अभावमा ओझेलमा परेको बिहुँकोत मन्दिरलाई उजागर गर्ने पूर्वाधार निर्माण गर्नेलगायतका काम जापानमा बस्ने बिहुँकोट निवासीबाट भइरहेको बताए ।

    तीन वर्षयता शौचालय, तारबार, सडक ढलान, खानेपानी, पदमार्ग र प्रवेशद्वारजस्ता पूर्वाधार निर्माणको काममा बिहुँकोट समाज जापान सक्रिय रहेको छ ।

    फूलपातीका दिन रु. एक करोड लागतमा निर्माण भएको अतिथि आवासगृहको उद्घाटन बिहुँकोट समाज जापानका संरक्षक तथा समाजसेवी दिपक सुवेदीले गरेका थिए ।

    सुवेदीले भक्तजनको सुविधाका लागि एकसाथ दुई आवासगृह निर्माण गरिएको जनाउँदै बिहुँकोत मन्दिरको प्रचार-प्रसारको कमी भएको बताए । उनले कोतघरले धार्मिक पर्यटक भित्र्याउने सम्भावना देखेर लगानी गरेको बताए ।


    प्रकाशित : मंगलबार, कार्तिक ११ २०८२०८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार