२०८३, कार्तिक ११ गते बुधबार

गाईपालनबाट मनग्य आम्दानी

गाईपालनबाट मनग्य आम्दानी


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८२ बिहीबार

  • गाईपालनबाट मनग्य आम्दानी

     

    स्याङ्जा । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिकरुपमा गाईपालन गरेको छ वर्ष भयो ।

    छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएको हो ।

    शुरुमा रु. ५० लाख लगानी गरी व्यवसाय थालेका बस्यालले फार्मलाई विस्तार गर्दै लगेको छ । उनले शुरुमा रु. ५० लाखको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी वीस वटाबाट थालेको व्यवसायलाई बर्सेनी विस्तार गर्दै लगेको हो ।

    “भैँसी र होलिस्टिन गरी वीसवटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनी विस्तार गर्दै लगेको छु”, उनले भने, “हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै रु. डेढ करोड लगानी भएको छ ।”

    फार्मबाट भएको आम्दानीलाई बर्सेनी लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए ।

    अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् ।

    आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झण्डै सय रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएको छ ।

    “फार्मबाट अहिले दैनिक दुई सय ५० देखि तीन सय लिटर दूध बिक्री हुने गरेको छ”, उनले भने, “फार्मबाट प्रति लिटर रु. ६५ देखि ७० का दरले दूध बिक्री भइरहेको छ ।”

    बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको छ ।

    फार्मबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले रु. १५ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनले बताए ।

    “यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन”, उनले भने, “उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट रु १५ का दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।”

    फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी छन् ।

    “केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ”, उनले भने, “काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।”

    फार्मसम्म विद्युतको तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनले बताए ।


    प्रकाशित : बिहीबार , कार्तिक १३ २०८२०४:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार