२०८३, कार्तिक ११ गते बुधबार

दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी


  • मेरोभ्यूज
  • कार्तिक १६, २०८२ आइतबार

  • दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

     

    दाङ । घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सिप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री शुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

    वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउँछीन् ।

    “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उनले भनिन् ।

    आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक रु. ६/७ हजार आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सयवटा टपरीलाई रु. पाँच सयमा बिक्री गर्छिन् ।

    बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ । दुना भने एक सयवटालाई रु. एक सय २० मा बिक्री गरिरहेको छ ।

    वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिन्छन् । “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भनिन् ।

    उनले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन् । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ ।

    आचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्दै आएको छ ।

    एकाउन्न वर्षीया शान्ति र ५७ वर्षीय खुशीरामले वि.सं. २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आएको हो । घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरुको दैनिकी वित्ने गरेको छ ।

    यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय दस जना महिला दिदीबहिनीहरुले पनि नियमितरुपमा काम गर्दै आएको छ ।

    “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकोले खुशी व्यक्त गरिन्”, उनले भनिन्, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।”

    तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताइन् । चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक रु. १५ हजार कमाइरहेको उनको भनाइ छ ।

    दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ ।


    प्रकाशित : आइतबार, कार्तिक १६ २०८२०९:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार