२०८३, कार्तिक ११ गते बुधबार

बस चल्न थालेपछि जग्गादाता खुसी

बस चल्न थालेपछि जग्गादाता खुसी


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८२ बिहीबार

  • बस चल्न थालेपछि जग्गादाता खुसी

     

    बागलुङ । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ ।

    बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ ।

    बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता नियमित बस चल्न नसकेकोमा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छुट्न थालेका छन् ।

    बागलुङ–४ स्थित दाबगरामा पाँच वर्षअघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दूरीका बस छुटाइएको छ ।

    यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन् ।

    बस चल्न थालेपछि जग्गादाता खुसी भएका छन् । नगरपालिकाले रु. नौ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

    बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएको सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ ।

    नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क सङ्कलन तथा व्यवस्थापनका निम्ती आर.बि. कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र आर.बि. कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबीच बसपार्क व्यवस्थापनको जिम्माका लागि सम्झौता भएपछि बसपार्कबाट बस छुट्न थालेका हुन् ।

    नगरपालिकाको आन्तरिक आय जम्मा गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर सङ्कलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

    बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कूल रु. आठ करोड ५५ लाख ६१ हजार एक सय ७२ नगरपालिकालाई भुक्तानी गर्नेछ ।

    त्यसको वार्षिक झण्डै रु. १६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ ।

    सम्झौता पत्रमा सवारीसाधन पार्किङ्गकको दरसमेत नगरपालिकाले कायम गरेको छ । सोहीअनुसार कन्स्ट्रक्सनले उठाउने र नगरपालिकालाई भुक्तानी दिइने छ ।

    कूल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर तथा तीन वटा टिकट काउण्टर, पाँच शौचालय, इभी चार्जर जडान गर्ने स्थानलगायत संरचना निर्माण भएका छन् ।

    बसपार्कका सटरहरुको तीन हजार पाँच सयदेखि दस हजारसम्म मासिक भाडा कायम गरिएको छ ।

    सवारीसाधनअन्तर्गत रात्रि बसको पार्किङ्ग शुल्क रु. दुई सयदेखि मोटरसाइकलको रु. दससम्म पार्किङ्ग शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

    नगर विकास कोषको ऋणमा नगरपालिकाले रु. नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो ।

    बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

    वि.सं. २०५८ मा कूल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।


    प्रकाशित : बिहीबार , कार्तिक २७ २०८२०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार