२०८३, कार्तिक ११ गते बुधबार

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित


  • मेरोभ्यूज
  • मंसिर ३, २०८२ बुधबार

  • राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

     

    बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

    बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन् ।

    उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएको छ ।

    राप्तीसोनारीमा वन क्षेत्र बढी भएको कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

    किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् ।

    किसानसँग सहकारीले खरीद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो रु. दस नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँ-तिहारको समयमा बढी खसीबोका बिक्री हुने गर्छन् ।

    राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेको एक सयभन्दा बढी खसीबोका खरीद बिक्री गरेको छ । यसबाट किसान महिलाले करिब रु. १९ लाख आम्दानी गर्न सफल भएको संस्थाकी प्रबन्धक गुरुङको भनाइ छ ।

    बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन् । दसैँ-तिहारजस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी–७ का अगुवा लालबहादुर थापाले बताए ।

    राप्तीसोनारी–७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँ-तिहारमा करिब रु. ३२ लाखका दुई सय बढी खसीबोका किसानबाट खरीद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिइन् ।

    राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा, कचनापुर, महादेवपुरी, बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आएको छ ।

    बाँके जिल्लाभरिबाट यस वर्षको दसैँ-तिहारमा रु. दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उनको अनुमान छ ।

    सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् ।

    सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताइन् ।

    हेफर इन्टरनेशनललगायतका सङ्घ/संस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताए ।

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्र भएको उल्लेख गरे ।

    बाख्रापालनमा किसानलाई आकर्षित गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, मंसिर ३ २०८२१०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार