२०८३, कार्तिक ११ गते बुधबार

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित


  • मेरोभ्यूज
  • मंसिर २५, २०८२ बिहीबार

  • अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

     

    भोजपुर । उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु. ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए ।

    केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उनले बताए । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् ।

    “गाउँघरमै अहिले अलैँची रु. ९८ हजारसम्ममा कारोबार भइरहेको छ”, किसान विष्टले भने, “कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।”

    टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिकरूपमा अलैँली खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उनले जानकारी दिए ।

    “समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ”, अध्यक्ष विष्टले भने, “रोगकिराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।”

    कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको जनाएको छ ।

    यहाँ प्रायः रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैँचीखेती बढी हुने गरेको छ ।

    यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।

    अलैँचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधि पनि बढेको छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैँची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् ।

    मूल्य बढे पनि अलैँचीखेतीमा रोगकिरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतका समस्या भने कायम रहेको किसानको गुनासो छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।


    प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार