२०८३, कार्तिक ११ गते बुधबार

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकाशे पुल निर्माण

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकाशे पुल निर्माण


  • मेरोभ्यूज
  • पौष १५, २०८२ मंगलबार

  • जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकाशे पुल निर्माण

     

    धनुषा । मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकाशे पुल निर्माण हुँदैछन् ।

    पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब रु. दस करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् ।

    कार्यालयका ई. उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेका बताए ।

    उनले भने, “एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।”

    इञ्जिनियर झाका अनुसार तीनवटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा रु. तीन करोड ४२ लाख, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा रु. तीन करोड ३५ लाख र सखुवा चोकमा रु. तीन करोड ४५ लाखमा बनिरहेका छन् ।

    सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशेपुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए ।

    उनका अनुसार यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधन आवत-जावत गर्ने भएकोले दुर्घटनाको जोखिम उच्च आएको छ ।

    क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकोले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए ।

    स्थानीय रोहितराज खनालले आकाशे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडकखण्डमा ट्राफिक व्यवस्थापन र शहरी सौन्दर्यकरणमा मद्दत पुग्ने बताए ।

    सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।


    प्रकाशित : मंगलबार, पौष १५ २०८२११:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार