२०८३, कार्तिक ११ गते बुधबार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन


  • मेरोभ्यूज
  • फाल्गुण १६, २०८२ शनिबार

  • मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन


    मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत सवस्टेसन निर्माण प्रक्रिया शुरु गरिएको छ ।

    नेपाल विद्युत प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुईवटा विद्युत सवस्टेसन निर्माण शुरु गरेको हो ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो ।

    उनीसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गरेको छ ।

    भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स/भिसान जेभीले रु. ३८ करोडको लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिए ।

    उनका अनुसार मुस्ताङ जिल्लालाई पूर्णरूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको जानकारी दिए ।

    प्राधिकरणले एक वर्षअघि सवस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुख राउतको भनाइ छ ।

    आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सवस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उनले चैले र चराङमा दुईवटा ‘थ्रिएमबिए’को ३३ केभी सवस्टेसन निर्माण हुने उल्लेख गरे ।

    प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ-२ कोवाङ सवस्टेनबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने चैले र चराङमा दुईवटा सवस्टेसन निर्माणको ठेक्का लगाएको हो ।

    उक्त सवस्टेसन तीन हजार आठ सय मिटर उचाइमा हाइअल्टिच्युडलाई थेग्नसक्ने गरी निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतको भनाइ छ ।

    उनका अनुसार यहाँ निर्माण हुने सवस्टेसन हिउँ परे पनि समस्या नहुने र यसमा हाइअल्टिच्युडमा पनि काम गर्नेगरी यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

    निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सवस्टेसन सम्पन्न भएपछि विद्युत आपूर्ति सहज हुनुका साथै विद्युत भोल्टेजमा पनि सुधार हुने विश्वास व्यक्त गरे ।

    यसैगरी माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले मुस्ताङको थासाङमा ३३ केभीको एउटा मात्रै सवस्टेसन हुँदा जिल्लामा विद्युत आपूर्तिमा समस्या हुँदै आएको बताए ।

    विद्युत आपूर्तिलाई दिर्घकालीनरूपमा समाधान गर्न पालिका र सराकोर भएका निकायको पहलमा नया सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

    स्वस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई ताकेता दिँदै आएको अध्यक्ष विष्टले जानकारी दिए ।

    उक्त सवस्टेसन सम्पन्न भएमा विद्युतको समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड-१ चराङसम्म विद्युत प्रसारण लाइन विस्तार शुरु गरिएको थियो ।

    दुई वर्ष सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिए ।

    केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने स्थानमा समस्या देखिँदा काममा ढिलाइ भएको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, फाल्गुण १६ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार