२०८३, कार्तिक ११ गते बुधबार

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा


  • मेरोभ्यूज
  • चैत्र १, २०८२ आइतबार

  • विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

     

    बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।

    बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब छ वर्ष मलेसियामा बिताएको थियो । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाइ नभएपछि उनी गाउँ फर्किए । त्यसपछि गाउँमै शुरु गरे, मौरिपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उनले सुनाए ।

    केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए/नभएको हेरचाह गर्नमा व्यस्त छन् ।

    एउटा घारबाट शुरु गरेको मौरीपालन हाल ६५ घारमा पुर्याएको छ । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् ।

    केसीले गाउँमै बसेर हाल परदेशमा भएका साथीभाइले जत्तिकै कमाइ गर्न गाह्रो नभएको बताउँछन् ।

    उनले वि.सं. २०७६ मा एउटा घारबाट व्यवसाय शुरु गरेका थिए । केसीलाई शुरुमा स्थानीय बडिगाड गाउँपालिकाले रु. आठ हजारको मौरीघार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै थप्दै आफूले रु. १२ लाखभन्दा बढी लगानी गरिसकेको उनले जानकारी दिए ।

    केसीले भने, “देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले छ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।”

    केसीले वार्षिक रु. २२ लाखको मह र मौरीघार बिक्री गर्दै आएको बताए ।

    एउटा घार रु. दस हजार र प्रतिकिलो मह रु. एक हजारमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ ।

    केसीले उत्पादन गरेको मह हाल बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने गरेको छ ।

    नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उनले बताए ।

    “गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ ।

    म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँ-ठाउँको महत्व बुझेँ”, केसीले भने, “अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपर्थ्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।” हाल उनले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आएको छ ।


    प्रकाशित : आइतबार, चैत्र १ २०८२०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार