बाँके । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडकखण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण शुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको डाक राजमार्ग निर्देशनालय, परियोजना कार्यालय नेपालगञ्जले बाँकेको खजुरा गाउँपालिकास्थित नेपालगञ्ज–गुलरिया सडकखण्डमा पर्ने पिडारी नालामा चार लेनको ३४.४० मिटर लम्बाइको बहुकोष्ठ (मल्टिसेल) बक्स कल्भर्ट निर्माण शुरु गरेको छ ।
उक्त आयोजना डाक राजमार्गको स्तरोन्नती तथा यस क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्ने उद्देश्यले अगाडि बढाइएको महत्वपूर्ण पूर्वाधार परियोजना हो ।
सडक विभागका अनुसार उक्त निर्माणका लागि एम/एस नारायणम निर्माण सेवा प्रा.लि., नेपालगञ्ज, बाँकेसँग ठेक्का सम्झौता गरिएको छ ।
आयोजनाको कुल लागत सात करोड ६० लाख ३५ हजार सात सय ३५ रुपैयाँ २१ पैसा रहेको छ । आयोजना २०८२ साल जेठ १९ गते सम्झौता भइ २०८३ साल वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना कार्यालय नेपालगञ्जले जनाएको छ ।
परियोजनाअन्तर्गत बक्स कल्भर्ट निर्माणसँगै नदी संरक्षण तथा पहुँच सडक निर्माणसमेत गरिनेछ ।
यसबाट वर्षा याममा पिडारी नालामा आउने बाढीका कारण हुने सडक अवरोधलाई स्थायी समाधान गर्ने अपेक्षा गरिएको छ ।
विगतमा बर्सेनी बाढीका कारण सडक क्षतिग्रस्त भइ आवागमन अवरुद्ध हुने समस्या रहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा बाढी र पानीको बहावका कारण यात्रु तथा सवारी साधनले जोखिम मोलेर आवत-जावत गर्नुपर्ने अवस्था थियो ।
कल्भर्ट निर्माणपछि वर्षा याममा समेत सुरक्षित, सहज र नियमित यातायात सञ्चालन हुने विश्वास गरिएको छ ।

