म्याग्दी । बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण शुरु भएको छ ।
बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।
वि.सं. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
“बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नती आयोजना शुरु गरेका हौँ”, उनले भने, “तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँखण्डको सडकलाई पक्की बनाउन लागेका हौँ ।”
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नती हुन थालेपछि पुलाचौरवासी उत्साही भएका छन् ।
धुलो र हिलोको समस्या हट्ने, यात्रा अवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीले बताएका छन् ।
सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो ।
चालु आ.व.का लागि रु. एक करोड ७७ लाख ८८ हजार चार सय ७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले गत पुस १२ गते रु. एक करोड २२ लाख ५५ हजार दुई सयमा ठेक्का सम्झौता गरेका थिए ।
निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान शुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले जानकारी दिए ।
यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उनले जनाए ।
उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आ.व.मा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो ।
आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत पाच सय ९७ मिटर ढलान र तीन सय मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सवइन्जिनियर मिलन केसीले बताए ।
पाँच सय दुई मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उनले बताए ।
बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नं. वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे–बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ ।

