२०८३, कार्तिक ११ गते बुधबार

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

     

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी छ सय ८० मिटर लामो तटबन्ध निर्माण गरेको हो ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरले यहाँ तटबन्ध निर्माण गरेपछि वर्षौँदेखि नदी कटानको त्रासमा रहेका नागरिकले राहत महशुस गरेका छन् ।

    आयोजनाका इञ्जिनियर उत्तम सुवेदीले भ्याटसहित रु. चार करोड ११ लाखको लागतमा तटबन्ध निर्माण गरिएको र यसले नदी कटान नियन्त्रणमा सघाउ पुगेको बताए ।

    यसअघि नदीको कटानले नेपाल–भारत सीमामा रहेको एक सय पाच नम्बर सीमास्तम्भसमेत जोखिममा परेको थियो ।

    तटबन्ध निर्माणपछि तटीय क्षेत्रमा बसोबास गर्ने दुई दर्जनभन्दा बढी परिवारले राहत महशुस गरेका स्थानीय खडग धामीले बताए ।

    “वर्षौंदेखि नदी कटानको जोखिम भोग्दै आएका थियौँ । बर्खायाममा कतिबेला घर बगाउने हो भन्ने त्रास हुन्थ्यो, सयौँ बिघा जमिन कटान गरेपछि कतिपय परिवार बिस्थापित भइसकेका छन् । अब त्यसबाट जोगिने आशा जागेको छ”, उनले भने ।

    यहाँ कतिपय परिवारको हातमा लालपुर्जा छ, तर जमिन छैन । ती परिवारको खेतीयोग्य जमिन नदी तथा बगरमा परिणत भएको छ ।

    धामीले भने, “यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए धेरै परिवार विस्थापित हुनुपर्ने थिएन ।

    यसबारे पटक-पटक मन्त्रालय र नेताहरूलाई पनि भन्यौँ । अन्तिममा हाम्रो मागको सुनुवाइ भइ तटबन्ध बनेको छ । यसले थप जोखिमबाट जोगिएका छौँ ।”

    यहाँ गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । स्थानीय रणसिंह धामीले तटबन्ध निर्माणपछि अब थप जोखिम नहुने आशा जागेको बताए ।

    “नदीले कटान गरेर दुःख दिइरहेको थियो, बर्खा लागेपछि त ढुक्क भएर निदाउन पनि पाइने अवस्था थिएन । तटबन्ध बनेपछि त्यसबाट राहत मिलेको छ”, उनले भने ।

    पूर्वसांसद न्यौपानेले तटबन्ध निर्माणपछि मोहना नदीले कटान गरेर बर्सेनी दिँदै आएको पीडाबाट ठूलो राहत भएको बताए ।

    “बर्खायाममा मात्रै होइन, सुक्खायाममा पनि नदीले कटान गर्ने गरेको थियो, जनता त्रासमा थिए ।

    हामी पनि यही क्षेत्रको प्रतिनिधि भएकामा तटबन्ध निर्माणका लागि निकै दबाबमा थियौँ”, उनले भने, “सबैको पहलपछि यहाँ तटबन्ध निर्माण भएको छ । सरकारले जनता पीडा र हाम्रो आवाजको सुनुवाइ गरेकामा खुसी लागेको छ ।”

    सुदूर-पश्चिम प्रदेश सरकारका पूर्वमन्त्री डा. रणबहादुर रावलले तटबन्धमा ढिलाइ हुँदा धेरैले जमिन गुमाएको र अब भने त्यो जोखिम नदोहोरिने विश्वास व्यक्त गरे ।

    “सरकारले कर्णाली र मोहना नदीमा तटबन्ध गरे पनि यहाँको केही भागमा बाँकी थियो, जसले गर्दा नदी छेउका धेरै नागरिकको जमिन कटान भयो । ढिलै भए पनि हामी सबैको पहलले समस्या समाधानका लागि तटबन्ध निर्माण भएको छ”, उनले भने ।

    मोहना नदी कटानले नेपाली भू-भाग भारततर्फ गएको छ । आफ्नो जमिन नदीपारि भारततर्फ गएपछि यहाँका नागरिकले त्यहाँ गएर खेतीपाती गर्न सकेका छैनन् ।


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३०९:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार