२०८३, कार्तिक ११ गते बुधबार

भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन

भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन


  • मेरोभ्यूज
  • आषाढ १६, २०८३ मंगलबार

  • भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन

     

    म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु. ५२ हजार लगानीबाट शुरु गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

    ६० वर्षीय गौचनले वि.सं. २०७४ मा घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण रु. ३८ हजार एक सय ५० र रु. १५ हजार बीउपूँजीबाट शुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

    “घुम्तीकोषको ऋण र बीउपूँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुईवटा बाख्रा थपेर पाँचवटा बनाएँ तर दुईवटा मरे”, उनले भने, “जमुनापारी जातको बाख्राको नश्ल सुधारका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको सङ्ख्या बढेर एक सय २० सम्म पुग्यो ।”

    हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुन्छ ।

    मासुका लागि खसीबोका र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरू गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ ।

    घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन शुरु गरेका थिए ।

    बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए । उनलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आएका छन् ।

    बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्ट्रेलिया पठाएका छन् ।

    वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिएका छन् ।

    वैदेशिक रोजगारीमा सोचेजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुरेन्द्रले बताए ।

    “विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छु”, उनले भने, “विदेशको अनुभव पनि गरियो । अब यतै व्यवस्थितरुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।”

    बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाएका छन् । चरनका लागि दुई/दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आएका छन् ।

    खोर निर्माणका लागि पछिल्लो पटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु. एक लाख ५० हजार सहयोग गरेको गौचनले बताए ।


    प्रकाशित : मंगलबार, आषाढ १६ २०८३०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार