नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी हुने गरेको छ । सुस्ता गाउँपालिका-३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिकरूपमा मेवाखेती शुरु गरी हालसम्म रु. तीन लाख आम्दानी गरेको हो ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अर्ग्यानिक मेवाखेती गर्न थालेको उनले बताए । उनले भने, “कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिकरूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”
करिब रु. दुई लाख ५० हजार लागतमा दस कट्ठा जग्गामा आठ सय मेवाका बिरुवाबाट खेती शुरु गरेको बताउँदै सहानीले अहिलेसम्म रु. तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिए ।
नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष रु. सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए ।
उनका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यापारीले प्रतिकिलो रु. ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् ।
“रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ”, सहानीले भने ।
जिल्लामा एक जनाले मात्र व्यावसायिकरूपमा मेवाखेती गरेको बर्दघाट सुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।
मेवाखेतीसम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायतका कारणले अरु किसानले मेवाखेतीमा रुचि नदेखाएको उनको भनाइ छ ।

