२०८३, कार्तिक ११ गते बुधबार

पर्वतको लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न

पर्वतको लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न


  • मेरोभ्यूज
  • आषाढ १९, २०८३ शुक्रबार

  • पर्वतको लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न

     

    पर्वत । जिल्लाको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न भएको छ ।

    महाशिला गाउँपालिका–५ लुङ्खुदेखि पैयूँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक निर्माण शुरु भएको ६ वर्षपछि कालोपत्र भएको हो । कालोपत्रे भएसँगै वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासीलाई सुविधा पुगेको छ ।

    ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनाअनुसार निर्माण शुरु भएको थियो । सो सडकका लागि कूल ३६ करोड ९६ लाख ९३ हजार छ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रा.लि.ले लिएको थियो ।

    महाशिला, पैंयू र विहादी गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने यो मुख्य सडक हो । अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको स्थानीय महेन्द्र श्रेष्ठले बताए ।

    सडक कालोपत्र भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ ।

    दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पुर्याउन सक्ने महाशिला गाउँपालिकाका कृषक सरस्वती अधिकारीले बताइन् ।

    पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे ।


    प्रकाशित : शुक्रबार, आषाढ १९ २०८३०८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार