२०८३, कार्तिक ११ गते बुधबार

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला


  • मेरोभ्यूज
  • आषाढ २०, २०८३ शनिबार

  • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

     

    ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहेकी थिइनन् ।

    एक मात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उनले राहदानीसमेत बनाइसकेकी थिइन् ।

    त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गरिन् । “तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उनले भनिन् ।

    हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थालेकी छिन् । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँदेखि पाँच हजारसम्म आम्दानी गर्न थालेकी छिन् । यसले उनको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

    सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहेकी थिइन् । मखमलीकै जस्तो उनलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उनले स्वरोजगार महशुस गरेकी छिन् ।

    उनले भनिन्, “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।”

    शुरूवातमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर, अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहजरूपमा सेवा लिन थालेको उनको अनुभव छ ।

    महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

    पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिताजस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ ।

    बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् । तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् ।

    उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बीचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन् ।

    पालिकाले अटो व्यवसाय शुरू गर्न चालक अनुमति पत्र प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ । यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।

    गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । “यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,” उपाध्यक्ष गोलेले भनिन् ।

    गाउँपालिकाले वडा नं. १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ । केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ ।

    महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइ-कटाइ, च्याउखेतीलगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।


    प्रकाशित : शनिबार, आषाढ २० २०८३१०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार