२०८३, कार्तिक ११ गते बुधबार

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन


  • मेरोभ्यूज
  • आषाढ २५, २०८३ बिहीबार

  • वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

     

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छिन ।

    चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् ।

    “अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भनिन् । बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब रु. २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छिन । बाख्रापालन मात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन् ।

    वि.सं. २०८१ मा गाउँ आएर काम शुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन् । उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेको बताइन् ।

    उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन् । उनले भने, “मेरा पाँच छोरीमध्ये अरू सबै शहरतिरै रोजगारीमा छन्, हामी श्रीमानश्रीमती पनि काठमाडौंमा बस्छौँ, कहिलेकाहीँ मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।”

    गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्किएको छ । तर पनि उनी निरन्तर बाख्रापालनमा खटिएकी छन् । “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरौँ कति सफल भइन्छ”, केसीले भनिन् ।


    प्रकाशित : बिहीबार , आषाढ २५ २०८३१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार