दाङ । घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेती गरी आर्थिक रुपमा सक्षम बनेका छन् । उनले पाँच बिघा जमिनमा गोलभेँडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।
यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गरिएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छन् । अनि दङ्ग छन् किसान ६२ वर्षीय चापागाईं ।
पसिना र पौरखले लहलह छन् उनको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल छन् चापागार्इं ।
चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमूना बनेको छ । उनले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारीमा र केही बतेला लागेका छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंलाई एक सफल एवं उत्कृष्ट किसानको परिचय दिएको छ ।
आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न उनले धेरै मेहनत गरेका छन् । किसानका लागि उनी एक सफलताको उदाहरण बन्न सफल भएका छन् ।
वि.सं. २०७५ मा रु. चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती शुरु गरेको चापागार्इंले बताए ।
अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु. २० लाख बढी लगानी गरेको चापागाईं बताउँछन् । उनले अर्काको जमिन भाडामा लिएर सबैभन्दा बढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहेका छन् ।
चापागाईंले वार्षिक प्रतिकट्ठा रु. तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्छन् । उनको कृषि फारममा अहिले छ जनाले रोजगारी पनि पाएका छन् । उनी भन्छन्, “सबै खर्च कटाएर वार्षिकरुपमा रु. १२ लाखसम्म बचत गर्न सकेको छु ।”
उनकी श्रीमती पनि यही खेतीमा पूर्णरुपमा लागेकी छिन् । दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन् ।
चापागाईं भन्छन्, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको मायाँ बढ्दो छ । यो उमेरमा पनि जोश जागरमा कमी आएको छैन ।” बारीमै आएर ग्राहकहरुले गोलभेडा, खुर्सानीलगायतका तरकारी किनेर लैजाँदा आनन्द आउने उनी बताउँछन् ।
चापागाईंले शुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाँडामा लिए । त्यही जग्गामा उनले गोलभेँडाखेती गरे । त्यहाँबाट उनलाई राम्रो आम्दानी भयो ।
खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छोडेर चापागाईंले विगत पाँच वर्षअघिदेखि यस ठाउँमा खेती गरिरहेका छन् ।
चापागाईंले अन्य जातका तरकारीभन्दा गोलभेँडाखेतीबाट धेरै लाभ लिन सकिने र एक पटक रोपेपछि लामो समयसम्म फल्ने तथा आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडाखेती गरेको बताए ।
चापागाईँले गोलभेडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी खेती पनि गरेका छन् । उत्पादन भएको तरकारी लिन बारीमै व्यापारी गाडी लिएर आउने गरेको उनले बताए ।
चापागाईंका अनुसार गोलभेँडा प्रतिकिलो रु. ८० र थोकमा प्रतिकिलो रु. ७० देखि रु. ७५ सम्म बिक्री भइरहेको छ । चापागाईं यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित भएका छन् ।
कृषि प्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईंको गुनासो छ ।
राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने चापागाईं सुझाव दिन्छन् ।
देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन् ।

