२०८३, कार्तिक ११ गते बुधबार

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी


  • मेरोभ्यूज
  • आषाढ २७, २०८३ शनिबार

  • सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।

    दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन् ।

    “पाँच वर्षजति खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि वि.सं. २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरे”, उनले भने, “सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौवटाबाट शुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।”

    वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु. पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीनजना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाएको साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसीबोकाबाहेक पाठापाठी पनि बिक्री हुने गरेको छ ।

    ग्राहकहरु पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन ।

    पौडेलले बाख्रापालनसँगै व्यावसायिकरुपमा सुन्तला र तरकारीखेती पनि गरेका छन् । एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप एक सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन् ।

    वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टी मिलेको पौडेलले अनुभव सुनाए ।

    व्यवस्थित किसिमको खोर बनाएर जमुनापारी जातको बाख्रा पालेका पौडेलले उन्नत बोयर जातको एकवटा बोका सहयोग पाएका छन् ।

    फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरेका छन् ।

    घर वरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरेका छन् ।

    बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एकवटा भोटे जातको सहित दुईवटा कुकुर पालेका छन् ।

    रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छन् ।

    जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाएकी छिन् ।


    प्रकाशित : शनिबार, आषाढ २७ २०८३०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार