२०८३, कार्तिक ११ गते बुधबार

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै


  • मेरोभ्यूज
  • आषाढ २९, २०८३ सोमबार

  • तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

     

    दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

    अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछिन् ।

    तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिकरूपमा तरकारीखेती गर्न थालेको लामो समय बितिसकेको छ । उनले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छन् ।

    उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु. चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन् । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घर-घर पुग्छिन् ।

    यस पटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु. दुई लाख ५० हजार आम्दानी भएको स्यानीले बताइन् । उनले भनिन्, “अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।”

    वि.सं. २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिकरूपमा खेती शुरु गरेको जनाइन् । उनले हाल दस कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गरेकी छन् भने दस कट्ठा जमिनमा तरकारीखेती गरेकी छन् ।

    एक वर्षमा दुई पटक मौसमी र बेमौसमी तरकारीखेती गर्दै आएको बताउने उनले धनियाँ प्रतिमुठा रु. २० मा बिक्री गर्दै आएको जानकारी दिइन् । उनका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु. एक सय २० सम्म बिक्री हुन्छ ।

    तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताइन् । हाल दस कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उनले उल्लेख गरिन् ।

    तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइ दिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताइन् ।

    तुलसीपुर-१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिकरूपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् ।

    उनले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताइन् ।

    उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उनले जानकारी दिइन् ।

    रेखाले भनिन्, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु. चार लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिइन् ।

    तुलसीपुर-१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक रु. तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छन् । उनले १४ कट्ठा जमिनमा व्यावसायिकरूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् । तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन् ।

    सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइ राख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

    यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका पाच सय बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

    तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित शितलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताइन् ।

    उनले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताइन् ।

    उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म समय छुट्याइएको बताइन् । सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उनको भनाइ छ ।

    “ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भनिन् ।

    यसैगरी, उनीहरूलाई दिसापिसाव गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिइन् ।

    उपमहानगर क्षेत्रका धेरै किसान तरकारीखेतीमा आकर्षित भइ आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ छ ।

    विशेषगरी तरकारीखेतीले गर्दा महिलालाई आर्थिकरूपमा सक्षम बनाउन मद्दत पुगेको उनले बताइन् ।


    प्रकाशित : सोमबार, आषाढ २९ २०८३०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार